३,७०० मिटर उचाइको पहाड, जहाँबाट गौरीशंकर, नुम्बुर, रोल्वालिङ र सगरमाथा क्षेत्रका हिमालहरु एकै ठाउँबाट देखिन्छन् ।
परिचय
च्योर्दोङ, ३ हजार ७ सय मिटर उचाईमा रहेको जिरीको सुन्दर पहाड हो । यहि पहाडको बेसक्याम्पमा लिंकन बजार छ । जिरी भ्रमणमा आउने पर्यटककालागि यो पहाडसम्मको यात्रा प्रकृतिसँग रमाउने सुनौलो अवसर हो । हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो ठाउँ सबैभन्दा उपयुक्त स्थान मानिन्छ ।
च्योर्दोङ यस्तो स्थान हो, जहाँ एकै ठाउँबाट लामो हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । यहाँबाट गौरीशंकर, नुम्बुर र रोल्वालिङ हिमशृङ्खलाका दर्जनौं हिमालहरु तथा सगरमाथा क्षेत्रका हिमालहरु समेत देख्न सकिन्छ । डाँडाबाट देखिने सूर्योदय र सूर्यास्तको अनुपम दृश्यले मन्त्रमुग्ध र आनन्दित बनाउँछ । यहाँबाट देखिने पहाडी र हिमाली भूदृश्य झनै मनोरम छ ।
किन घुम्ने?
च्योर्दोङ हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल पनि हो । यो पहाड हिन्दु र बौद्ध संस्कृतिहरुको अद्वितीय मिलनको प्रतीक हो, जहाँ प्रकृति, अध्यात्म र परम्परा एक अर्कासँग जोडिएका छन् । च्योर्दोङ डाँडामा महादेवको बास छ । नयाँ वर्ष र कार्तिक पूर्णिमामा यहाँ भव्य मेला लाग्ने गर्दछ ।
फोटो ग्यालरी
आगन्तुक जानकारी
जान्नैपर्ने कुराहरू
जिरी लिंकन बजारबाट करिब ६ घण्टाको उकालो यात्रा पछि च्योर्दोङ पुग्न सकिन्छ । यात्राका क्रममा पाइने सुनाखरी, लालीगुराँस, चिमाल, ठिङ्ग्रेको घना जङ्गल र वन्यजन्तुले यात्रालाई थप मनोरञ्जन प्रदान गर्दछन् ।
पदयात्राको क्रममा सुन्दर क्याङसे पोखरी भेटिन्छ । पोखरी नजिकसम्म कच्ची सडकको यात्रा गरेर पनि पुग्न सकिन्छ । जिरीबाट क्याङसे पोखरीसम्म डेढ घण्टाको सडक यात्रा र त्यहाँबाट ३ घण्टाको पदयात्रा पछि च्योर्दोङ पुग्न सकिन्छ । यात्राका क्रममा भेटिने चौंरी गोठ र चौंरी गाईसँगको सामिप्यता अर्को आकर्षण हो ।
लिंकन बजारदेखि च्योर्दोङसम्मको यात्रापछि पर्यटकहरु त्यहीं टेन्ट टाँगेर क्याम्पिङ गर्न रुचाउँछन् । लामो पदयात्रामा निस्कन चाहनेहरु च्योर्दोङबाट श्यामाको पाथीभरा, भूतपोखरी हुँदै पाँचपोखरी–जटापोखरीसम्मको यात्रा तय गर्छन् । छोटो अवधिको यात्रा गर्ने पर्यटक दिनभर दृश्यावलोकन गरेर साँझ जिरी बजार फर्किन सक्छन् ।
स्थान
जिरी, दोलखा (उचाइ करिब ३,७०० मिटर)जिरी, दोलखा, बागमती, नेपाल