जिरीमा रहेको रंगीन आधारमा स्थापित बज्र गुरु (गुरु रिन्पोछे) को सुनौलो मूर्ति

फोटो: ARAttitRaj, CC BY-SA 4.0, Wikimedia Commons

धार्मिक स्थल

धार्मिक यात्रा

जिरी, दोलखा, बागमती, नेपाल

जिरेश्वरी महादेव, हलेश्वर महादेव, गुरु रिन्पोछेको मूर्ति र यलुङ गुम्बासम्म एक दिनमै गर्न सकिने धार्मिक यात्रा ।

परिचय

बहुजाति, बहुभाषा, बहुधर्म तथा बहुसँस्कृतिले भरिपूर्ण जिरीमा थुप्रै मठमन्दिर, गुम्बा, चैत्य र चर्चहरु छन् । ती मध्ये जिरेश्वरी महादेवदेखि यलुङ गुम्बासम्म धार्मिक यात्रा गर्न सकिन्छ । जिरी लिंकन बजार नजिकै जिरेश्वरी महादेवको मन्दिर रहेको छ ।

जिरेश्वरी महादेव मन्दिर जिरीको सबैभन्दा नजिकको धार्मिक तथा पर्यटकीय स्थल हो । जिरेश्वरी महादेवको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । नाग पञ्चमी र जनै पूर्णिमाका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । सानो खोलामाथि पहराको ओडारमा रहेको यस मन्दिरमा नागको प्रतिमा स्थापना गरिएको छ ।

जिरेश्वरी महादेवको दर्शनपछि जिरी नगरपालिका–३ मालीमा रहेको हलेश्वर महादेवको दर्शन गर्न सकिन्छ । यो मन्दिर रातमाटे हुँदै सडक र पैदल यात्रा मार्फत पुग्न सकिन्छ । हलेश्वरको गुफाभित्र महादेव बिराजमान छन् । ३५ मिटर लामो गुफाभित्र शिव र गणेशको शिला रहेको छ । उक्त शिलामा कडा चट्टानमा रहेको गाईको थुन आकारको आकृतिबाट पानी झर्ने गर्दछ । गुफाको बाहिरपट्टि शिव मन्दिर निर्माण गरिएको छ ।

हलेश्वर महादेवको दर्शन गरेमा निसन्तानलाई सन्तान प्राप्ति हुने, बोल्न नसक्नेहरुको बोली खुल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ जनैपूर्णिमाका दिन भव्य मेला लाग्छ ।

किन घुम्ने?

जिरीको मालीस्थित पटासेडाँडामा दक्षिण एसियाकै अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण भइरहेको छ । १६५ फिट अग्लो मूर्ति निर्माणको अन्तिम चरणमा छ । यहाँ गुरु रिन्पोछेको मूर्तिका अलावा बौद्ध ध्यान केन्द्र लगायतका संरचनाहरु पनि निर्माण भइरहेका छन् । निर्माण सकिएपछि यो स्थान बौद्ध धर्मावलम्बीहरुकालागि अन्तर्राष्ट्रिय धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्नेछ ।

यलुङ उपत्यका जिरी नगरपालिका–३ स्थित यलुङ खोलाको तिरमा रहेको शेर्पा जातिको बाहुल्य रहेको बस्ती हो । यलुङ उपत्यकामा शेर्पा जातिको धर्म, संस्कृति र रहनसहन अवलोकन गर्न सकिन्छ । यहाँ करिब ३ सय वर्ष पुरानो च्यारुङ खश्योर स्तुपा छ । स्तुपाको पूर्वतर्फ विशाल चट्टानमा बौद्ध मन्त्र लेखिएको छ । यो स्तुपाको दर्शन गर्नुलाई काठमाडौंको बौद्ध स्तुपाको दर्शन गर्नु सरह मानिन्छ ।

यहाँ ङग्युर हेसे ख्युङजोलिङ गुम्बा छ । यलुङ पुग्ने पर्यटकहरु होमस्टेमा बास बसेर त्यहाँको धर्म, संस्कृतिको अध्ययन तथा प्रकृतिसँग रमाउन सक्ने छन् ।

आगन्तुक जानकारी

जान्नैपर्ने कुराहरू

लिंकन बजारदेखि जिरेश्वरी महादेव, हलेश्वर महादेव, गुरु रिन्पोछे र यलुङ भ्यालीसम्मको यात्रा एक दिनमै गर्न सकिन्छ ।
जिरी बजारबाट गाडी र करिब ५ मिनेटको पैदल यात्रा गरी आधा घण्टामा जिरेश्वरी महादेव पुग्न सकिन्छ ।
जिरेश्वरी महादेवमा नाग पञ्चमी र जनै पूर्णिमामा, हलेश्वर महादेवमा जनै पूर्णिमामा मेला लाग्छ ।
यलुङमा होमस्टेको सुविधा छ ।

स्थान

सुरुवात: लिंकन बजार, जिरी
जिरी, दोलखा, बागमती, नेपाल

नजिकका स्थानहरू