जिरीको उच्च भागबाट देखिने हिउँ परेको डाँडा र पहाडहरू

फोटो: Rajukunwar, CC BY-SA 4.0, Wikimedia Commons

पदयात्रा

हनुमन्ते पदयात्रा

जिरी, दोलखा, बागमती, नेपाल

बुद्ध पार्कदेखि गुराँस पार्क, ठूलोनागी र ३,०३० मिटरको हनुमन्ते हुँदै खावासम्मको पदयात्रा ।

परिचय

जिरीमा प्रकृतिसँग लुकामारी गर्दै रमाउन सकिने धेरै पद मार्गहरु छन् । ती मध्ये एक हो, बुद्धपार्कदेखि गुराँस पार्क हुँदै ठूलोनागी, हनुमन्ते र खावासम्मको पद यात्रा । घना जंगल, रमणीय वातावरण, हिमशृङ्खला, चौंरीको लस्कर र वन्यजन्तुसँगको लुकामारी यो पद यात्राका मुख्य विशेषता हुन् ।

जिरीको मानेडाँडा बजारबाट बुद्धपार्क हुँदै सुरु हुने यो पदयात्रा ३ हजार मिटर उचाइको ठूलो नागी र ३ हजार ३० मिटरमा रहेको पवित्र धार्मिकस्थल हनुमन्ते हुँदै खावा बजार पुगेर सकिने छ ।

च्योर्दोङ पहाडको ठिक अगाडिपट्टि रहेको बुद्ध पार्क पुग्नै पर्ने पर्यटकीय गन्तव्य हो । यहाँबाट जिरीको सुन्दर बस्ती र बजारको दृश्यावलोकन गर्न सकिन्छ । पार्कमा २० फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरिएको छ भने ध्यानकेन्द्र लगायतका संरचनाहरु निर्माण गरिएका छन् ।

बुद्ध पार्कबाट शेर्पा समुदायको बाक्लो बस्ती रहेको बुलुडाँडा हुँदै छोटो दुरीमै गुराँस पार्क पुग्न सकिन्छ । चैत–बैशाखको बेला ढकमक्क गुराँस र चिमाल फुल्दा यहाँको वातावरण निकै मनमोहक हुन्छ । यहाँबाट करिब आधा घण्टामा ठूलोनागी पुग्न सकिन्छ । ठूलोनागीबाट सुन्दर हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

किन घुम्ने?

ठूलोनागीबाट हनुमन्तेसम्मको यात्रा अझ रोमाञ्चक हुनेछ । हनुमानले भगवान रामलाई बचाउन सञ्जीवनीको बुटी यही पहाडबाट लगेको धार्मिक विश्वास छ । हनुमन्ते पुग्ने पर्यटकले गौरीशंकर सहित रोल्वालिङ हिमशृङ्खला लगायत पूर्वमा नुम्बुर हिमाल देखि पश्चिममा लाङटाङ हिमालसम्मको हिमशृङ्खलाहरु देख्न सक्ने छन् ।

हनुमन्तेमा हनुमानको मूर्ति र गुफा पनि छ । धार्मिक विश्वास राख्ने र प्रकृतिसँग लुकामारी गर्नेहरुको लागि हनुमन्ते महत्वपूर्ण आकर्षणको केन्द्र हो । यो क्षेत्रको भ्रमणपछि कच्ची सडकमा गाडी चढेर वा पैदलै खावा बजार पुगेपछि यो पदयात्रा पूरा हुनेछ ।

आगन्तुक जानकारी

जान्नैपर्ने कुराहरू

पदमार्ग: मानेडाँडा बजार → बुद्ध पार्क → बुलुडाँडा → गुराँस पार्क → ठूलोनागी (३,००० मि.) → हनुमन्ते (३,०३० मि.) → खावा बजार
गुराँस पार्कबाट ठूलोनागी करिब आधा घण्टाको दुरीमा छ ।
चैत–बैशाखमा गुराँस र चिमाल फुल्छन् ।

स्थान

सुरुवात: मानेडाँडा बजार / बुद्ध पार्क, जिरी–६
जिरी, दोलखा, बागमती, नेपाल

नजिकका स्थानहरू