नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने, विगतमा सगरमाथाको प्रवेशद्वार रहेको दोलखाको पर्यटकीय नगरी ।
परिचय
जिरी, नेपालका प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । दोलखाको पर्यटकीय नगरी जिरी देश विदेशमा चिरपरिचित नाम हो । नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिरी प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
विगतमा सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको जिरी स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र हो । प्राकृतिक मनोरमताले मात्र नभई जिरी जातजाति, भाषाभाषी र सँस्कृतिले पनि भरिपूर्ण छ ।
जिरी, जिरेल जातिको किपट थलो हो भने यहाँ शेर्पा, तामाङ, सुनुवार, नेवार, क्षेत्री, ब्राम्हण लगायतका जातजातिको बसोबास रहेको छ । यहाँ पर्यटकहरुले बिभिन्न जातजातिको मौलिक एवँ साँस्कृतिक नृत्य र झाँकी हेर्न पाउँछन् ।
ढुँगे अर्थात लिंकन बजार, पुरानो हाटडाँडा (हालको मानेडाँडा) र खावा जिरीका मुख्य बजार क्षेत्र हुन् । जिरीमा सुविधा सम्पन्न होटल, लजहरुको व्यवस्था छ ।
ग्रिन जिरी, क्लिन जिरी, अर्गानिक जिरी, जिरीको मुख्य नारा हो । जिरी आउने पर्यटकहरुलाई अर्गानिक खानाका परिकार खुवाउने गरिन्छ । जिरीमा रहेका तेन्जिङ–हिलारी पार्क, टोनी हेगन पार्क, स्टोन पार्क, मानेडाँडा पार्क, बुद्ध पार्क र गुँरास पार्कमा पर्यटकहरु रमाउन सक्छन् ।
किन घुम्ने?
जिरी नगरपालिका वडा नम्बर १ मा रहेको पाँचपोखरी, जटापोखरी, धार्मिक र पर्यटकीय केन्द्र हो । स्वर्गको एउटा टुक्रा मानिने यो स्थानमा जनैपूर्णिमामा भव्य मेला लाग्ने गर्दछ ।
हनुमानले सञ्जीवनीको बुटी लगेको धार्मिक विश्वास रहेको हनुमन्ते, जिरेश्वरी महादेव, हलेश्वर महादेव, रामबोले कालिदेवी, जिरी गुम्बा, यलुङ गुम्बा लगायतका मठमन्दिर र गुम्बा, चैत्य तथा चर्चहरु मुख्य धार्मिक गन्तव्यहरु हुन् । जिरीमा निर्माण भइरहेको दक्षिण एसियाकै अग्लो गुरु रिन्पोछेको मूर्ति बौद्ध धर्मावलम्बीहरुकालागि अर्को आस्थाको केन्द्र हो ।
जिरी आउने पर्यटकहरु छोटो दुरीको पदयात्रा र हाइकिङमा जाने गर्दछन् । पाँचपोखरी, जटापोखरीको यात्रा, जिरीबाट क्याङसे पोखरी हुँदै च्योर्दोङसम्मको यात्रा र गुँरास पार्कबाट ठूलो नागी हुँदै हनुमन्तेसम्मको पदयात्रामा प्रकृतिको अनुपम सुन्दरतासँग रमाउन सकिन्छ ।
च्योर्दोङ जिरीको सुन्दर पहाड हो, त्यहाँबाट देखिने गौरीशंकर हिमाल, नुम्बुर हिमाल, रोल्वालिङ हिमशृङ्खला र सगरमाथा क्षेत्रका हिमशृङ्खलाको दृश्य बयान गर्न लायक हुनेछ ।
शिक्षा, पशुपालन र कृषिको अध्ययन भ्रमणकालागि पनि जिरी एउटा गन्तव्य हो । नेपालकै नमूना मानिने जिरी प्राविधिक शिक्षालय र नेपालको एक मात्र गाई आनुवंशिक श्रोत केन्द्र जिरीमै छ ।
सलल बगेको जिरी खोला, लिंकन बजारको दक्षिणतर्फ रहेको समथर फाँटमा देखिने उन्नत जातका गाईको लस्करले पनि जिरीको सुन्दरतालाई थपिदिएको छ ।
फोटो ग्यालरी
आगन्तुक जानकारी
जान्नैपर्ने कुराहरू
जिरी आउने पर्यटकले चौंरी गाईको दुधबाट बनेको याक चिज, छुर्पी तथा जिरीमा उत्पादन भएको किवी, चिया र आलुलाई कोसेलीको रुपमा लैजाने गर्छन् ।
सुविधाहरू
- सुविधा सम्पन्न होटल तथा लज
- अर्गानिक खानाका परिकार