४,५१० मिटरको पाँचपोखरी र ४,२५० मिटरको जटापोखरी — जनैपूर्णिमामा भव्य मेला लाग्ने पवित्र धार्मिक स्थल ।
परिचय
दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक एवम् ऐतिहासिक पाँचपोखरी–जटापोखरी प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो पवित्र धार्मिकस्थलमा प्रत्येक वर्ष जनैपूर्णिमामा भव्य मेला लाग्छ ।
धार्मिक एवम् पर्यटकीय आकर्षणको केन्द्र पाँचपोखरी–जटापोखरी पुग्न जिरी बजारबाट श्यामाको पुम्पा र रामेछापको गर्जाङ हुँदै करिब २ दिन पैदल हिड्नु पर्छ । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला पार गरेर गएपछि जटापोखरी पुगिन्छ । जटापोखरीबाट करिब १ घण्टा ठाडो उकालो चढेपछि पाँचपोखरी पुगिन्छ ।
किन घुम्ने?
४ हजार ५ सय १० मिटरको उचाईमा रहेको पाँचपोखरी, माता पार्वतीले पाँच वटा पाँचकुने कुण्ड बनाएर तपस्या गरेको ठाउँ हो भन्ने हिन्दु धर्मग्रन्थमा उल्लेख छ । यस्तै ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको जटापोखरीलाई महादेवको जटा भएको स्थानको रुपमा लिने गरिन्छ ।
एउटै पोखरीमा प्राकृतिक रुपमा बीच–बीचमा उठेका बाँधहरुले पोखरीलाई पाँच वटा कुण्डमा विभाजन गरेको छ । पाँचपोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्ने गर्दछ । जनैपूर्णिमाको समयमा मेला लाग्ने बेला दर्शनार्थीहरु सुस्वास्थ्य, धन आर्जन तथा बालीनाली र पशुपालन राम्रो होस् भनेर पनि पूजा आराधना गर्छन् ।
यहाँ लाग्ने मेलामा सन्तान नभएका दम्पतीहरुले खाली कोक्रो बोकेर सन्तान माग्दै ध्यान गरेको दृश्य अझ चर्चित छ । सन्तान प्राप्तिपछि यस्ता दम्पती आफ्ना छोराछोरीलाई समेत लिएर दीर्घायु सहितको वरदान माग्न पुनः पाँचपोखरी, जटापोखरी पुग्ने गर्दछन् ।
उकाली–ओराली गर्दै हुने यात्राका क्रममा प्रकृतिसँग लुकामारी हुनेछ । घना जङ्गल, जडिबुटी र वन्यजन्तुसँगको सामिप्यताले पदयात्राका सबै थकानहरु भुलाइदिन्छ । यहाँ यार्सागुम्बा, जटामसी, पदमचाल, सुनपाती लगायतका बहुमूल्य जडिबुटी पाइन्छ । यात्राका क्रममा हिउँ चितुवा, चरी बाघ, घोरल, कस्तुरी, मृग लगायतका वन्यजन्तुहरु पनि देख्न सकिन्छ भने उच्च पहाडी क्षेत्रको हावापानी, वनस्पति, जडीबुटी, खोलानाला र झरनाहरुले यात्रीहरुको मन आनन्दित बनाउँछ ।
फोटो ग्यालरी
-
जटापोखरी
फोटो: Markjohnjack (Wikitravel), सार्वजनिक (Public domain), Wikimedia Commons
-
पाँचपोखरी क्षेत्रको दृश्य
आगन्तुक जानकारी
जान्नैपर्ने कुराहरू
जिरी बजारबाट श्यामाको पुम्पा र रामेछापको गर्जाङ हुँदै करिब २ दिनको पैदल यात्रा ।
खिम्ती खोला पार गरेपछि जटापोखरी (४,२५० मि.), त्यहाँबाट करिब १ घण्टा ठाडो उकालोमा पाँचपोखरी (४,५१० मि.) ।
प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्छ ।
स्थान
जिरी नगरपालिका (दोलखा) र गोकुलगंगा गाउँपालिका (रामेछाप) को सिमानाजिरी–१, दोलखा, बागमती, नेपाल