धार्मिक स्थल

सिकिर बस्ती–रामबोले मन्दिर

जिरी, दोलखा, बागमती, नेपाल

जिरेल जातिको धर्म, संस्कृति र रहनसहन चिन्ने यात्रा — आवीथानको मन्दिर र रामबोले कालीदेवीको दर्शनसहित ।

परिचय

जिरी, जिरेल जातिको उद्गम थलो हो । जिरेल जातिको धर्म, संस्कृति, भेषभूषा र रहनसहन अध्ययन गर्नकालागि यो यात्रा महत्वपूर्ण हुनेछ । यात्राको क्रममा दुई वटा ऐतिहासिक मन्दिरको दर्शन पनि गर्न सकिने छ ।

सिक्री खोला किनारमा अवस्थित सानो उपत्यकालाई सिकिर गाउँ भनिन्छ । समथर फाँटमा चिटिक्क मिलेको जिरेल बस्ती हेर्न लायक छ । सिकिर भ्रमण गर्ने पर्यटकले जिरेलका खानाका परिकार पनि खान पाउने छन् ।

इतिहास

विगतमा जिरी बजारसम्म सडकको पहुँच नपुग्दा सगरमाथा आरोहण र खुम्बु क्षेत्रको भ्रमणमा जाने पर्यटक एक रात यहाँ बास बस्ने गर्दथे । तत्कालिन राजा बिरेन्द्र युवराज हुँदा जिरीसम्मको पैदल यात्रा गरेको र सिकिर बजारमा एक रात बास बसेको स्थानीय बताउँछन् ।

किन घुम्ने?

सिकिर बस्तीको केही माथि जिरेल समुदायको आराध्य देवस्थल ‘आवीथानको मन्दिर’ रहेको छ । ऐतिहासिक यो मन्दिरमा जिरेल समुदायले पूजाआजा गर्नुका साथै फलामबाट बनेको हँसिया आकारको ‘खुर्मी’, त्रिशुल, फूलपाती चढाउने गर्दछन् । यो मन्दिर वर्षौं पुरानो भएको बताइन्छ ।

सिकिरबाट खरायो बन हुँदै अघि बढेपछि जिरीको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको रामबोले कालीदेवीको मन्दिर पुग्न सकिन्छ । यहाँ कार्तिक पूर्णिमादेखि पञ्चमीसम्म भव्य मेला लाग्ने गर्दछ ।

मेला भर्न दोलखा र आसपासका जिल्लाका अलावा काठमाडौं उपत्यका र छिमेकी मुलुक भारतदेखि दर्शनार्थीको भीड लाग्दछ । बहुजातिको धार्मिक केन्द्रको रुपमा रहेको कालीदेवी मन्दिरमा लाग्ने मेलामा उनीहरुको गीत संगीतको अद्भुत सांस्कृतिक प्रदर्शन समेत हुने गर्दछ ।

आगन्तुक जानकारी

जान्नैपर्ने कुराहरू

जिरीको प्रवेशद्वार खावाडाँडाबाट करिब १५ मिनेटको गाडी यात्रामा रामबोले पुग्न सकिन्छ ।
पैदल यात्रा मार्फत करिब १ घण्टामा पुग्न सकिन्छ ।
रामबोलेमा कार्तिक पूर्णिमादेखि पञ्चमीसम्म मेला लाग्छ ।

स्थान

सिकिर गाउँ, सिक्री खोला किनार
जिरी, दोलखा, बागमती, नेपाल